समाचार

रंगकर्मी प्रचण्ड मल्लको निधन


काठमाडौँ — वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौँको सिभिल अस्पतालमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनी केही दिनदेखि निमोनिया रोगबाट सिकिस्त थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनी नेपाली रंगमञ्चमा निर्देशक र लेखकको नामले परिचित छन् ।

उनले ७० वटाभन्दा बढी नाटक लेखेका छन् भने सयभन्दा बढी नाटक निर्देशन गरेका छन् ।

मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन् । त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन् । उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन् । बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा सुरु गरेका थिए ।