समाचार

टिपरले ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु


काठमाडौँ — सिरहाको लहानमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा सप्तरीको बलान बिहुल गाउँपालिका २ दिघियाका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपन कुमार दाहालका अनुसार लहान नगरपालिका ३ मा बिहीवार दिउँसो स १ क २६२ नम्बरको टिपरले ठक्कर दिएपछि प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको मृत्यु भएको हो ।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । आज पोष्टर्माट पश्चात आफ्न्तले शव बुझेर दाहसंस्कारका लागि गाउँ लग्नेछन् ।

एकै परिवारका तीन जनाको मृत्यु भएपछि दिघिया टोल शोकमा डुबेको छ । त्यहाँका वडा अध्यक्ष बिरेन्द्र गोइतले गाउँबाट मानिसहरु शव बुझ्न लहान गएका छन् भने मृतकको परिवार शोकमा छन् । उनीहरुको सामुहिक दाहसंस्कार गरिनेछ ।