राजनीति

मतदान अझै सुरु हुन सकेन – कांग्रेस प्रतिनिधि भोट खसाल्ने लाइनमा, मत माग्दै नेता


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन । प्रतिनिधिहरु भोट खसाल्न लाइनमा छन् । उम्मेदवारहरुले लाइनमै पुगेर मत मागिरहेका छन् । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।