समाचार

दाङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २० घाइते


काठमाडौँ — दाङको तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले दुईजनाको घटनास्थलमा र अर्का एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४८ बर्षिय प्रेम प्रकाश शर्मा सोही ठाउँकी ४८ बर्षीय साउती घर्ती र २५ बर्षीय लालमति खड्का रहेका छन् ।

आज बेलुका ४ बजेतिर तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप सिरखोलामा दुर्घटनामा परेको हो । घाइतेको केहीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने केहीको नेपालगन्ज रेफर गरिएको छ ।