राजनीति

एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलोमात्रै, माओवादीले सिद्धन्तमा जोड दिन्छ


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आज सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशमा प्रदेश सम्मेलन उद्घाटन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्मेलन उद्घाटन गर्दै देशको जारी गतिरोध माओवादीले नै समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले आज प्रदेश अधिवेशनको उद्घाटन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता नारायणकाजी श्रेष्ठले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनमाथि आक्रमण गरेको आरोप लगाए ।

प्रतिगमनको अझैं खतरा रहेको भन्दै उनले पाँच दलीय गठबन्धनलाई जोगाएर जानुपर्ने उनको भनाइ छ । श्रेष्ठले आगामी राष्ट्रिय सम्मेलन संगठनात्मक सुदृढिकरणका लागि मात्रै नभएर रुपान्तरणको महाअभियान पनि भएको बताए । उनले राष्ट्रियताको हरहालतमा संरक्षण गर्नुपर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरेर समाजवादी आन्दोलनतिर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनका नाममा एमाले र कांग्रेसले भिड मात्रै जम्मा गरेको टिप्पणी गरे । एमाले र कांग्रेस विचारहिन र सिद्दान्तहिन बनेको आरोप समेत उनले लगाए ।

एमालेको भेलालाई पञ्चको संज्ञा दिएका प्रचण्डले कांग्रेसमा पनि उम्मेवारी मनोनय र चुनावमात्रै हुने र विचारको बहस नहुने आरोप लगाए । आफूले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदन लेखिरहेको बताउँदै प्रचण्डले त्यो निरन्तरतामा क्रमभंग गर्ने खालको हुने दावी गरे । माओवादी चुनौति र अवसरको दोसाँधमा रहेको बताउँदै प्रचण्डले पार्टीमा कमी कमजोरी रहेको र त्यसलाई सच्चाएर क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण गर्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।