राजनीति

कांग्रेस नयाँ नेतृत्वका लागि मनोनयन दर्ता समाप्त, दर्ता उपर दावी विरोध र जाँचबुझ सुरु


काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता सकिएको छ । कांग्रेसको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको थियो ।

उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय हुनेछ । राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

पर्सि बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । संस्थापन र संस्थापनइतरबाट पौडेल पक्ष र सिंह पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।