राजनीति

डोल्पामा समाजवादीप्रती आकर्षण, दुई सय बढी पार्टी प्रवेश


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले कर्णालीमा पहिलो शक्ति नै एकीकृत समाजवादी बन्ने बताएका छन् ।

डोल्पा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै ज्वालाले समाजवादीमा बढ्दै गएको जनलहरले अन्य राजनीतिक दलहरु समेत तर्सिएको दाबी गरे ।

उनले भने, ‘डोल्पाको यो विशाल जनलहरले समाजवादीप्रति जनताको विश्वास देखाइरहेको छ । कर्णालीका अन्य जिल्लामा समेत जनताको यही विश्वास हामीले पाएको छौैँ । कर्णालीको पहिलो शक्ति नै अब समाजवादी हो । समाजवादीप्रतिको आकर्षणले एमालेजस्ता पार्टी तर्सिएका छन् ।’

कार्यकर्तालाई प्रशिक्षित गर्दै ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी ओलीकै कारण पार्टी विभाजित बनेको बताएका छन् । वास्तविक समाजवादको यात्रामा आफ्नो पार्टी अगाडि बढिरहेको ज्वालाको भनाइ छ । डोल्पाली जनताको मन जितेका नेताहरु नै समाजवादीमा भएकाले आगामी निर्वाचनमा डोल्पाबाट संघ, प्रदेश र स्थानीय तहमा समाजवादीले नेतृत्व गर्ने ज्वालाको विश्वास छ ।

डोल्पाको दुनै पुगेका ज्वालाले जिल्ला पार्टी कार्यालयको उद्घाटन पनि गरेका छन् । भेलामा कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, पोलिटब्यूरो सदस्य हंशबहादुर शाही र जिल्ला अध्यक्ष नन्दसिंह बुढाको उपस्थिति थियो ।

भेलामा नेकपा ९माओवादी केन्द्र०का काइके गाउँपालिका महिला इन्चार्ज मिलन शाहीसहित विभिन्न पार्टीबाट करिब २ सय नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।