समाचार

झापामा बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते


काठमाडौँ — झापामा बस र मारुती भ्यान एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँचजना घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका-१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।

बाह्रदशी गाउँपालिका-३ स्थित लक्ष्मीपुर –राजगढ सडक खण्डमा शनिबार बिहान ७ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र-१-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए ।

यता, अन्य घाइतेहरू बाह्रदशी-१ निवासी ५५ वर्षीया किमारी निरौला, सोही ठाउँका ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका-१ निवासी १२ वर्षीय विशाल पौडेल घाइते भएका छन् ।

उनीहरूको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ। बिहान लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।