राजनीति

कांग्रेस महाधिवेशन : पौडेललाई प्रकाशमानले स्वीकारेनन्, देउवाले आफ्नै टीमलाई मिलाएनन् (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत उद्घाटनसत्र सकिएर अब बन्दसत्रमा प्रवेश गर्दैछ । बन्दसत्रमा कुनै खाले नीतिगत छलफल नभएर काँग्रेस सिधैं नेतृत्व चयनमा अघि बढ्नेछ । तर उद्घाटन सकिएपनि कुनैपनि समूहले नेतृत्व र पदाधिकारी टुंग्याएका छैनन् ।

देउवालाई पदाधिकारीको विषयमा सकस परेका बेला पौडेल पक्षमा सभापतिको साझा उम्मेद्वार नै टुंगिएको छैन । दुई दाबेदार प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति नभएपछि टीमको नेतृत्व गरेका रामचन्द्र पौडेलले पार्टीबाटै विदा लिनेसम्मको चेतावनी दिएका थिए । अन्तिम समयमा आएर शेखरले रामचन्द्र पौडेलकै पक्षमा सहमति भए आफु छोड्न तयार रहेको बताएपछि अब प्रकाशमानमा गएर कुरा अड्किएको छ । तर उनी कुनैपनि हालतमा छोड्ने मनसाय देखाइरहेका छैनन् । तथापी नेताहरु रामचन्द्रलाई सभापति बनाएर जान नेताहरु सहमत हुने विश्वास गरिरहेका छन् । महामन्त्री लगायतका पदमा भने अन्योलता कायमै छ ।

पौडेल पक्षबाट महामन्त्रीका लागि गगन थापाले उम्मेद्वारी घोषणा गरेर अघि बढेका छन् । अन्य आकंक्षी मिनेन्द्र रिजाल र धनराज गुरुङ शिर्ष नेतृत्वको सहमति पर्खिएर बसेका छन् ।देउवातिर भने सभापतिमा सर्वसम्मत जस्तै भएपनि महामन्त्री लगायतका पदमा नेताहरु खुलेका छैनन् । महामन्त्रीका लागि प्रकाशशरण महतलाई अघि बढाउने चर्चा चलेपछि विश्वप्रकाश शर्मा, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र बालकृष्ण खाँड जस्ता नेताहरुआकंक्षी छन् । आठ सहमहामन्त्रीमा समावेशी तरिकाले मिलाउनुपर्ने भएपनि केही नेताबाहेक अन्यको विवरण सार्वजनिक भएको छैन ।

पार्टीभित्रका दुई ठुला समूहभित्र पदाधिकारीका लागि अन्तरसंघर्ष चर्किएका बेला संस्थापन पक्षबाट चोइटिएका बिमलेन्द्र निधिले आफ्नो टीमबाट दुई नाम सार्वजनिक गरेका छन् । पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदुरपश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहलाईअघि सारेपनि कुन पद दिने निक्र्याेल भएको छैन । तेस्रोधारका रुपमा रहेको सिटौला पक्षको महामन्त्रीमा प्रदीप पौडेलको चर्चा भएपनि ठोस कुरा बाहिर आएको छैन ।

उद्घाटनसत्र सकिएर पनि बन्दसत्र सुरु हुनेबेलासम्म पदाधिकारी चयनमा देखिएको अलमलले समूह व्यवस्थापन र नेताहरुबीचको आकंक्षा पुरा गर्न शिर्ष नेतृत्व असफल देखाउँछ । जसले उम्मेद्वारी मनोनयन र दर्ताकै बेला किचलो व्यवस्थापन हुने सम्भावना छ ।