राजनीति

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चुन्न आज निर्वाचन प्रक्रिया सुरु हुँदै


काठमाडौँ — काठमाडौँमा शुक्रबार सुरु नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज शनिबार आगामी कार्यकालका लागि पार्टीको नेतृत्वमा रहन चाहनेहरूले उम्मेदवारी दर्ता गर्दै छन् ।

शुक्रबार दिउँसो भृकुटीमण्डपमा उद्घाटन समारोहपछि त्यही साँझ बन्दसत्र सुरु गरिएको कांग्रेस महाधिवेशनअन्तर्गत आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ।

यस्तै भोलि आइतबार दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहमा मतदान केन्द्र बनाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री चयन गर्नेछ । यस्तै महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस(आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फ गरी सहमहामन्त्री आठ सहमहामन्त्री पनि चयन गर्नेछ ।

केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउने कांग्रेसले विधानमा व्यवस्था गरेको छ । केन्द्रीय महाधिवेशनका प्रतिनिधिले प्रत्यक्षतर्फ ३५, महिलातर्फ ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना गरी २१ सदस्य प्रत्यक्ष चुन्नेछन्।

यस्तै दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जनासहित ५४ जना सदस्य पनि चुनिनेछन्।​​

अल्पसङ्ख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट १ र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना गरी २ जना केन्द्रीय सदस्य पनि महाधिवेशनबाट निर्वाचित हुने छन्।