राजनीति

काँग्रेसको महाधिवेशनमा साना दलको चर्काे आवाज, ठूला नेताहरुलाई गरे खबरदारी (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा साना दलका नेताहरुले शुभकामना दिने क्रममा ठूला दल र नेताहरुलाई अभिव्यक्तिबाट चोटिलो प्रहार गरेका छन् । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाको बैधता, राजसस्थाको माग गर्नेदेखि मधेष आन्दोलनसम्मको अभिव्यक्ति आएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा साना दलका अध्यक्षहरुले ठूला दलका नेताहरुका आलोचना गर्नेदेखि व्यवस्था माथि नै प्रश्न उठाएका छन् । जनता समाजवादी पार्टीका अध्इक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि जोड दिएका छन् । उनले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने पनि प्रस्ट पारे । विगतका कमी कमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलयतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुद्दाको विषयमा सम्बोधन नभए तराईमा फेरि ज्वालामुखी विस्फोटन हुने बताए । उनले अहिले संविधानमा अहसमति रहेको सम्बोधन र आन्दोलनको क्रममा भएको सहमति कार्यान्वन नुहँदा त्यसले ज्वालामुखी विस्फोट हुने बताएका हुन् ।

काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्ति बढि चर्चामा छ । लिङ्देनले अहिले सबै राजनीतिक दलहरूले विश्वास गुमाएको बताएका छन् । उनले उदाहरण दिँदै गाउँ घरतिर पार्टीको कार्यकर्ताले नेता आउँदा कुन चाँहि चोर आएछ भनेर सम्बोधन गर्छन् भन्दै नेताहरुलाई झटारो हानेका थिए ।

राष्ट्रिय जनमोर्चाका नेतृ दुर्गा पौडेल, नेकपा मालेका महासचिव सीपी मैनालीले पनि काँग्रेस महाधिवेशनको शुभकामना व्यक्त गर्दै गणतन्त्र जोगाउन सबै दलहरु एकजुट हुनु पर्नेमा जोड दिए । भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले नेपाली कांग्रेस लोकतन्त्रको महत्त्वपूर्ण कडी रहेको बताएका छन् ।

सम्बोधन गर्ने क्रममा वासनिकले भारतीय राष्ट्रिय कंग्रेसको शुभकामना सन्देश पनि सुनाएका थिए । त्यस्तै भारतीय जनता पार्टी (भाजपा)का नेता हर्ष वर्द्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् । हर्ष वद्र्धनले भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण पनि गरे ।