राजनीति

राजेन्द्र लिङदेन भर्सेज गणतन्त्रवादीहरुको जुहारी, जब लिङदेनलाई काँग्रेसमाझ ओली–प्रचण्डले ‘हिरो’ बनाए (भिडियोसहित)


काठमाडौँ — राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेसको महाधिवेशन समारोहमा दिएको अभिव्यक्तिबाट अधिकांश ठूला भनिएका नेताहरु उत्तेजित बनेका छन् । राजसस्था, हिन्दु राज्यको एजेण्डामा बोलेका लिङदेनप्रति ठूला दलका नेताहरु आक्रोशित बनेका हुन् ।

काँग्रेसको महाधिवेशनको उद्घाटन सत्र नेताहरुको अभिव्यक्तिमा सुन्ने हो भने लगभग राप्रपा भर्सेज गणतन्त्रवादीहरु जस्तो देखियो । राजसस्था, हिन्दु राज्यको मूदालाई दरिलो रुपमा काँध थापेको राप्रपा पार्टीको अध्यक्षमा भर्खरै राजेन्द्र लिङदेन निर्वाचित भए ।

उनी निर्वाचित भएपछि ठूलो मञ्चमा भाषण गरेको यो नै पहिलो हो । तर लिङदेनको भाषण अन्य नेताहरुका लागि पनि आक्रोशित बनाउने खालको भयो । लिङदेनले मुख्य गरि ३ विषय जोड गरेर बोलेका थिए । राजसस्थाका लागि तयार हुनु पर्ने, हिन्दु राज्यका लागि तयार हुनु पर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने उनको मूल विषय थियो ।

गणतन्त्रवादीहरुको भीडमा गएर राजसस्थाको माग गर्दै आफ्नो पार्टीको नीति राख्नु लिङदेनका लागि कम चुनौतीपूर्ण थिएन । तर पनि दरिलो रुपमा आफ्नो अभिव्यक्ति राखे । त्यसबेला काँग्रेसका कार्यकर्ताहरुले हुटिङ गरेका थिए । त्यत्ति मात्रै होइन, लिङदेनले अहिले नेता गाउँ जाँदा कार्यकर्ता र जनताले कुन चाहीँ चोर आएछन भनेर सम्बोधन गर्छन् भन्दै कसिलो झटारो लगाएका थिए ।

लिङदेनले यत्ति बोल्दा मञ्चमा बसेर सुनिरहेका गणतान्त्रिक व्यवस्थाका होनहार नेताहरुले आफ्नो बोल्ने पालो आएपछि भने लिङदेनसंग जुहारी नै खेले । माधव नेपाल देखि प्रचण्ड र केपी शर्मा ओलीसम्मले लिङदेनलाई जवाफ फर्काए । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राजाले पनि पार्टी खोलेर चुनाव लड्न चुनौती दिए । नभए व्यापार गरेर बस्न भन्दै लिङदेनप्रति कटाक्ष गरे ।

नेतालाई चोर भनेको प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चित्त दुखाउँदै जनताले आफूहरुलाई चोर नभन्ने बचाउ गरे । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजेन्द्र लिङदेनलाई नै जवाफ फर्काएका छन् । ओलीले लिङदेनलाई भर्खर जन्मीएको बाछोको संज्ञा दिए । ओलीले भने, हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप केही समयमा ठिक ठाउँमा आउने भन्दै कसिलो जवाफ दिए ।

जेजस्तो भएपनि काँग्रेस महाधिवेशनको उद्घाटन सत्रको केन्द्रविन्दुमा भने राप्रपा अध्यक्ष लिङदेनको अभिव्यक्ति रहयो । गणतन्त्रवादी नेताहरुको मुटुमा ढ्यांग्रो ठोक्ने गरि बोलेका लिङदेनको वरिपरि अरु नेताहरुको अभिव्यक्ति घुमेको थियो । बेला बेला गणतन्त्र धरापमा छ भन्ने अत्तिवक्ति दिने नेताहरु राजसस्थाको वकालत गर्ने एउटा सानो पार्टीसंग पनि झस्कीएका रहेछन् भन्ने चाहीँ आजको मञ्चबाट पुष्टि हुन्छ । हैन भने प्रधानमन्त्री भइसकेका पार्टीको नेतृत्व गरिरहेका दलका नेताहरुले यो स्तरको जुहारी खेलिरहन चाहीँ जरुरी थिएन कि ?