राजनीति

लिङ्देनले राजसंस्था चाहियो भन्दा काँग्रेसको हुटिङ, ‘नेता गाउँ जाँदा जनताले चोर आएछ भन्छन्’ (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक सांसदले मन्त्री बन्न नपाउने व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । शुक्रबार काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन् ।

लिङ्देनले नेतृत्व तहमा धेरै विकृतिहरु बढेकोले त्यसलाई सुधार गर्नुपर्ने खाँचो रहेको टिप्पणी गरे । ०४७ सालयता कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको र सबैजसो पार्टी फुट्दैफुट्दै आएको बताउँदै उनले कहाँनेर चुक्यौं भन्नेतर्फ सबैको ध्यान जानुपर्ने धारणा राखे। पार्टी ठीक ठाउँमा बस्यो भने अरु ठिक हुने उनको भनाई छ ।

जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे । ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनले भने ।

महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह गरे । उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए ।

‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने। उनले काँग्रेसको १४ औँ महाधिवेशनको पूर्ण सफलताको पनि कामना गरे ।