राजनीति

कांग्रेस महाधिवेशन : प्रचण्ड एक वर्षपछि र नेपाल ५ महिनापछि ओलीसँग एउटै मञ्चमा


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘इन्ट्री’ गरेका छन् । आमन्त्रित अतिथि नेताहरूमध्ये सबैभन्दा ढिला गरी उनी उद्घाटनस्थलमा उपस्थित भएका हुन् ।

यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने भएको छ । कांग्रेसले महाधिवेशनको ब्यानरमा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा राखेको छ ।

नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला भएका हुन् । विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ  ।

उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएकाउ छन् । ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन ।

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ । उनीहरूबीच संवाद टुटेको लामै समय मात्रै भएको छैन, देशव्यापी तिक्तता बढिरहेको छ । तीनै दल आपसमा कार्यकर्ता तान्ने होडबाजीमा छन् । नेताहरूले विभिन्न मञ्चबाट आपसी घोचेपेच र जुहारी जारी राखेका छन् । यस्तो पृष्ठभूमिमा एउटै मञ्चमा आमुन्ने–सामुन्ने हुन लागेका नेताले कस्तो सम्बोधन गर्लान् ?