राजनीति

कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु छ : अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् ।

दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको स्वागतमा बागमती प्रदेश कमिटीले राखेको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसको महाधिवेशमा जानुछ, हाम्रो पार्टीको तर्फबाट शुभकामना दिनु छ ।’

‘नेपाली कांग्रेसको पुरानो पार्टी हो, बेसिकल्ली लोकतान्त्रिक भनिने पार्टी हो । त्यो पार्टीलाई पनि लोकतान्त्रिक मूल्य मान्यतामा हिँडाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो, नत्र हामी एक्लै हुन्छौं ।’

अरु पार्टीहरु पानीको फोका जस्तै भएको उनको टिप्पणी छ । पृथ्वीका वरिपरि थुप्रै तारा जस्तो देखिए पनि त्यो नक्षेत्र नहुने भन्दै ओलीले भने, ‘कतिपय स्याटलाइटहरु छन् । वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि कांग्रेस हो ।’