राजनीति

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाऊँ : निधि


काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आज सुरु हुँदै गरेको १४ औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउन प्रस्ताव गरेका छन् । अन्यथा आफ्नो उम्मेदवारी यथावत् रहने बताएका छन् ।

चितवन–काठमाडौँ प्रजातान्त्रिक संगमले शुक्रबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाएर एकताको सन्देश दिन कांग्रेसका नेतारकार्यकर्तासँग आह्वान गरेका हुन् ।

पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउँदा न्याय पनि हुने र देशभरका कांग्रेसजनमा एकताको सन्देश पनि जाने उनको दाबी छ । ‘पौडेल सर्वसम्मत सभापति नबनाइए मेरो उम्मेदवारी यथावत् नै छ’, निधिले भने ।

हिजो बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेल सहभागी नहुनु दुःखद कुरा भएको पनि निधिले बताए । संस्थापन पक्षका नेता निधिले सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै आफू पनि यो महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने कुरा यस अघिदेखि नै बताइरहेका छन् ।