राजनीति

देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन : डा.रिजाल


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले पार्टी नेतृत्वमा नयाँ अनुहारको आवश्यकता भएपनि अन्तिम दिन सम्म पनि त्यसले सार्थकता पाउन मुश्किल देखिएको बताएका छन् । वर्तमान सभापति शेरबहादुरको विकल्पमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको महामन्त्रीका उम्मेदवार रिजालले बताएका हुन् ।

सभापतिका लागि साझा उम्मेदवार टुंगो नलाग्दा अहिले डा.रिजाल आफै नै अलमलमा परेको प्रतिक्रिया दिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने, ‘म अहिले शीर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन, उनले भने, ‘देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन ।’

डा.रिजालले महाधिवेशन उद्घाटनको दिन आइसक्दा पनि सभापतिको उम्मेदवार चयन गर्न नसकेको स्वीकार गरे । ‘हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौं तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।’

उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । पौडेल समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापतिमा अडान छोडेका छैनन् ।