राजनीति

अफगानिस्तानी शरणार्थीलाई आश्रय,ईयूले ४० र जर्मनीले २५ हजारलाई गर्यो स्वागत


काडमाडौँ – युरोपेली संघ (ईयू)का १५ मुलुक अफगानिस्तानबाट आएका ४० हजार मानिसलाई आश्रय दिन सहमत भएका छन् । ईयूकी कमिस्नर यल्वा जोहानसनले ईयूका मुलुकको गृहमन्त्रीहरूको बैठकपछि यस्तो जानकारी दिएकी हुन् ।

एएफपीका अनुसार सबैभन्दा धेरै शरणार्थीलाई जर्मनीले आश्रय दिनेछ । जर्मनीले २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सयभन्दा धेरैलाई आश्रय दिनेछ । फ्रान्स र स्पेनले समान २५÷२५ सय अफगानिस्तानका शरणार्थीलाई आश्रय दिनेछन् । अन्य मुलुकले यो भन्दा कम संख्याका शरणार्थीलाई आश्रय दिने बताएका छन् । जोहानसनले यो कार्य निकै महत्वपूर्ण भएको र यसले अनियमितरुपमा अफगानिस्तानका नागरिकलाई युरोप आउनबाट पनि रोक्न सक्ने बताएकी छिन् ।

यसअघि नै यूएनएचसीआरले ईयूलाई ४२ हजार ५०० अफगानिस्तानका शरणार्थीलाई आश्रय दिन आग्रह गरेको थियो । अहिले पनि ईयूको मुलुक नजिकै करिब ८५ हजार अफगानिस्तानका नागरिक आश्रयको खोजीमा रहेको अनुमान छ । गत अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै यसअघि नै ईयूका मुलुकले उद्धार गरिएका २८ हजार मानिसलाई आश्रय दिइसकेका छन् ।