राजनीति

कांग्रेसको १४औं महाधिवेशन आजबाट शुरू,नेताहरू पद बाँडफाँडमा व्यस्त


काठमाडौँ – प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट शुरू हुदै छ । ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने यो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटनका लागि भृकुटीमण्डपमा ४० लाख रुपैयाँको लागतमा ठूलो मञ्च तयार पारिएको छ । उम्मेदवारी मनोनयन भोलि हुने भए पनि प्यानलसहित नेतृत्व दाबीको तयारीमा लागेका शीर्ष नेताहरूले पद बाँडफाँड अझै मिलाउन सकेका छैनन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वका लागि चुनावी मैदानमा उत्रने निश्चित भए तापनि पदाधिकारीका आकांक्षी धेरै भएकाले पनि प्यानल निर्माण हुन सकेको छैन ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा सभापतिको उम्मेदवारबारे सहमति हुन सकेको छैन । सहमति नभएपछि प्रकाशमान सिंह र डा. शेखर कोइरालाले छुट्टाछुट्टै तयारी अघि बढाउनुभएको छ । पौडेल पक्ष विभाजित भएसँगै पुनः नेतृत्व लिने रणनीतिमा लागेका सभापति देउवा भने पहिलो चरणमा ५० प्रतिशत मत कटाएर विजयी हुने रणनीतिमा लाग्नुभएको छ ।