राजनीति

प्रधानन्यायाधीश हटाउने खेलमा नलाग्ने एमालेको निष्कर्ष, संसद् बैठकमा अवरोध कायमै राखिने


काठमाडौँ – नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा पार्टी नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताउनुभयो ।

उहाँले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गर्नुभयो । सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानून व्यवसायीले गरेको आन्दोलनका एजेण्डाबाट न्यायालयको सुधार नहुने बताउनुभयो ।

आगामी २८ मंसिरबाट सुरू हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने उहाँको भनाइ छ । पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने उहाँको भनाइ छ । १० औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको उहाँको दाबी थियो ।