विदेश

भारतीय सेना प्रमुख रावतको अवस्था चिन्ताजनक, ११ शव निकालियो


काठमाडौँ — तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भारतीय रक्षाप्रमुख विपिन रावतलाई अस्पताल भर्ना गरिएको छ ।

भारतीय सेनाको एमआई-१७भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो । घना जंगलमा भएको यस दुर्घटनामापछि आगो लागेको थियो । यसमा भारतीय रक्षाप्रमुख जनरल बिपिन रावत, उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए ।

समाचार अनुसार अहिलेसम्म ११ शव भेटिएका छन् । ती शव अधिकांश जलेका छन् । दुर्घटनाको करिब एक घण्टापछि जनरल रावतलाई वेलिङ्गटनको सैनिक अस्पतालमा लगिएको छ । तर उनको अवस्था चिन्ताजनक छ । यसबारेमा भारतीय सेनाले कुनै आधिकारिक विज्ञप्ति निकालेको छैन ।

रक्षा मन्त्री राजनाथ सिंह दुर्घटनापछि तत्कालै संसद पुगेका छन् । त्यहाँबाट उनी कुन्नूर जाँदैछन् । जनरल बिपिन रावत भारतका पहिलो रक्षाप्रमुख हुन् । उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए । रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए ।