राजनीति

कांग्रेस महाधिवेशन : पदाधिकारीको उम्मेदवार टुंग्याउन संस्थापन समूह असफल


काठमाडौँ — पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्शविहीन भएको छ ।

बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए ।

देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको एक नेताले बताए । सभापतिमा देउवाको उम्मेदवारी निश्चितजस्तै भएपनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन संस्थापन समूहमा सकस छ ।

बैठकमा सहभागी नेताहरुले आफ्नो उम्मेदवारीका बारेमा धारणा राखेका थिए । उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए । उनले भने, ‘सभापतिमा मेरो इच्छा छैन तर त्योभन्दा दोस्रो पदमा मेरो दावी रहन्छ ।’ तर गच्छदारले उपसभापति पदमै उम्मेदवारी रहनेबारे प्रष्ट नबोलेको बैठकमा सहभागी एक नेताले बताए ।

संस्थापन समूहबाट महामन्त्रीमा हालका सहमहामन्त्री डा। प्रकाशरण महत, नेताहरु बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा छन् । बैठकमा पाँचै जनाले महामन्त्रीमा दावी गरेका थिए ।

त्यस्तै सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेशीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन् भने पुष्पा भुसालले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।पदाधिकारीका आकांक्षी धेरै भएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ ।