समाचार

छिनमस्ता गाउँपालिका उपाध्यक्षले कुर्सी हानेपछि अध्यक्षको दुईवटा दाँत भाँचियो


काठमाडौँ – गहुँको बिउ वितरणको विषयमा विवाद बढ्दै जाँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ ।

गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा उपाध्यक्ष मण्डलले कुर्सीले हान्दा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ । उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै वेला अध्यक्ष सूर्यनारायण मण्डलले नजिक आएर अपशब्द प्रयोग गरेपछि कुर्सीले प्रहार गरेको स्वीकार गरिन्  । ‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरेँ र सोही क्रममा मैले कुर्सी उठाएर हानेकी हुँ,’ उनले भनिन् । घटनाबारे बुझ्न खोज्दा अध्यक्ष मण्डलको फोन उठेन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुटाकुटको घटनाबारे सुने पनि आधिकारिक रूपमा जानकारीमा नआएको बताए । ‘घटनापछि उहाँहरू आ–आफ्नो घर हिँडेको सुनियोे । उहाँहरूले घटनाबारे प्रहरीमा जानकारी गराउनुभएको छैन,’ उनले भने ।

अध्यक्ष र उपाध्यक्षबीच विगतमा बजेट वितरणलाई लिएर पनि सार्वजनिक रूपमै विवाद हुँदै आएको छ । स्थानीय विनोद यादवले अध्यक्ष र उपाध्यक्षबीच विगतमा भनाभन र विवादका घटना भइरहेको बताए  । उनका अनुसार छिन्नमस्ता गाउँपालिकामा पछिल्लो दुई आर्थिक वर्षदेखि गाउँसभा हुन सकेको छैन । जसकारण विकास निर्माणका काम पनि पूर्ण रूपमा ठप्प छ । कर्मचारीले समेत महिनौँदेखि तलब पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको यादवले बताए ।

गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्काली राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् । तर, उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष मण्डल जसपामा छन् भने उपाध्यक्ष उषाकुमारी लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।