राजनीति

अमरेश सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित


काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनबाट सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटका नेता वीरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ ।

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार विरेन्द्रले ५ सय १४ मत ल्याउँदा अमरेशले २ सय ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला निकटका नेता अमरेशले सर्लाहीको क्रियाशील वितरणमा संस्थापन समूहले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको उनको आरोप थियो ।

क्रियाशील सदस्यताकै विवादलाई लिएर सर्लाहीमा हवाइ फायर तथा झडप समेत भएको थियो ।