राजनीति

महाधिवेशन संघारमा , देउवालाई चुनौती दिने उम्मेदवार खोज्दै पौडेल पक्ष


काठमाडौँ – प्रमुख सत्तारुढ दल कांग्रेसको महाधिवेशन संघारमा आइसक्दा समेत शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले उम्मेदवार छान्न सकेका छैनन् । देउवा पक्षबाट सभापतिमा फेरि पनि शेरबहादुर नै दोहोरिने निश्चित छ ।

देउवालाई उपसभापति विमलेन्द्र निधिबाहेक तत्काल कसैले पनि चुनौती दिएका छैनन् । निधिले पनि सभापतिमा आकांक्षा राखेका छन् । देउवाले पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलगायत पदमा उम्मेदवार चयन गर्ने विषयमा छलफल थाल्नुभएको छ । दुई उपसभापति, दुई महामन्त्री र आठ कोषाध्यक्षमा क–कसलाई उम्मेदवार बनाउने भन्ने चुनौती देउवासामू रहेको निकट नेताहरू बताउँछन् ।

पौडेल समूह भने देउवालाई चुनौती दिने सभापतिको उम्मेवार तय गर्न जुटिरहेको छ । पौडेलका अनुसार आज साँझसम्म साझा उम्मेदवार तय हुने छ । पौडेल समूहमा पौडेलसहित प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको आकांक्षी हुनुहुन्छ । महामन्त्री डा. शशांक कोइराला भने सभापतिको दौडबाट बाहिरिनुभएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन पर्सि सुरु हुँदै छ । उद्घाटनको भोलिपल्ट उम्मेदवारहरूको मनोनयन दर्ताको तालिका तय गरिएको छ ।