राजनीति

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका स्वीकृत


काठमाडौँ –निर्वाचन आयोगले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दल दर्ता गर्नुपर्नेछ ।

यस्तै पुस १७ गते मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम सच्याउन दरखास्त दिने तथा मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । यस्तै पुस १८ र १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुनमा समयावधि सकिने १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो ।