राजनीति

सरकार नै प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको पक्षमा छैन : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गर्नु भएको हो । आज प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताउनु भयो ।

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताउनु भयो । उहाँले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पार्नु भयो ।