राजनीति

माधव नेपालले भने – अब राप्रपा र एमालेबीच पार्टी एकता हुन्छ


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनु भएको छ ।

सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनु भएको हो । एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताउनु भयो ।

उहाँले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताउनु भयो । अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएकोसमेत दाबी गर्नु भयो । उहाँले गठबन्धनको सरकारमा सहभागी दलकाअघि ओलीको केही नलाग्ने ठोकुवा समेत गर्नु भयो ।

अध्यक्ष नेपालले एमाले भित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गर्नुभयो ।