राजनीति

अदालत परिसरमा आज पनि बारको आन्दोलन जारी


काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सञ्चालन हुन नसकेको बताए ।

अध्यक्ष श्रेष्ठले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरूलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोपसमेत लगाए । अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गरे । उनले भने, ‘न्याय बेचबिखन नरोक्नको लागि, न्याय नदिन, न्याय बेचबिखन गर्नको लागि प्रधानन्याधीश राजीनामा नदिकन बसिरहनु भएको छ ।

अब उहाँको बहिर्गमन अवश्यम्भावी छ । न्यायपालिकाको गरिमा राम्रो भएन र न्यायपालिका स्वच्छ भएन, स्वतन्त्र भएन भने राज्यका अरू अंग पनि निकम्बा हुन पुग्दछन् ।’

अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताए । नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गएको कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।