राजनीति

राष्ट्रिय सम्मेलनमा खानेबस्‍ने आफैँ मिलाउन कार्यकर्तालाई प्रचण्डको परिपत्र


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुसमा हुन लागेको राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन परिपत्र गरेका छन् ।

अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनेलाई आफैँ खाने बस्ने व्यवस्था गर्न पनि भनेका छन् । प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि जनही प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।

परिपत्रमा पदाधिकारीको छुट्टै आवेदन शुल्क नलिने पनि माओवादीले जनाएको छ । त्यस्तै सदस्यता शुल्क दाखिला गरेपछि पदाधिकारीका लागि बाँकी शुल्क मात्रै लिने व्यवस्था मिलाउने पनि माओवादीले जनाएको छ।

२०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरूको बैठकबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरी प्रतिनिधिहरूको नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्नु पर्ने परिपत्रमा उल्लेख छ ।