राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेल पक्षमा केन्द्रीय सभापतिको साझा उम्मेदवार छान्न सकस


काठमाडौँ – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षमा केन्द्रीय सभापतिको साझा उम्मेदवार छान्न सकस परेको छ ।वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको दाबी गर्दै आउनुभएको छ । सभापतिका आकांक्षीले छलफल थालेपनि सहमति जुट्न नसकेको एक नेताले बताए ।

चारै जनाले आफूलाई केन्द्रमा राखेका कारण सहमति नभएको ती नेताको भनाइ छ । पछिल्लो समय वरिष्ठ नेता नेता पौडेल र महामन्त्री डा. कोइरालाले सहमति भए त्याग गर्न तयार रहेको बताउँदै आउनुभएको छ । तर, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाले भने आफू बलियो उम्मेदवार भएको दाबी गर्दै आउनुभएको छ ।आज दिउँसो पनि चार नेताबीच छलफल हुने भएको छ । पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारीमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।