समाचार

बैतडीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो


काठमाडौँ – बैतडीको पाटन नगरपालिका–१ सकारमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका १ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

यसअघि सुर्नया गाउँपालिका ४ का २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० बर्षीया मनिषा विक, सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो । पाटन बजारबाट पाटन नगरपालिका– ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा कच्ची सडकबाट करीब ४ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका ५ मध्ये दुईजनालाई डडेल्धुरा रिफर गरिएको प्रहरीले जनाएको छ । जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् ।