राजनीति

राप्रपा नेतृत्वमा लिङ्देनले मारे बाजी, के छन् अबका योजना ? पूर्वराजासँग थापाको चित्त दुखाई (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देनले बाजी मारेका छन् । तर अन्य पदाधीकारीमा भने कमल थापा प्यानलकै बर्चश्व रहँदा लिङ्देनको आगामी कार्यकाल भने त्यति सहज देखिदैन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा राजेन्द्र लिङदेनले बाजी मारेसँगै विभिन्न कोणबाट अबको उनको नेतृत्वका विषयमा टिकाटिप्पणी हुन् थालेका छन् । करिब डेढ दशक राप्रपाको नेतृत्वमा रहेका राजनीतिक हस्ती कमल थापालाई हराएर विजयी हासिल गरेका लिङ्देनका लागि अबको कार्यकाल त्यति सहज भने देखिदैन् । किनभने राप्रपाको १९९ सदस्यीय केन्द्रीय कमिटीमा महाधिवेशनले पदाधिकारीसहित १४९ जनालाई निर्वाचित गरेको छ ।

जसमा कमल थापा पक्षको बर्चश्व रहेको छ । अध्यक्षसहित पदाधिकारीको ८ पदमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्रीमा धवल शमशेर राणामात्रै विजयी भएका छन् । यस्तै पदाधिकारीमा थापा पक्षबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङले बाजी मारेका छन् । यता महिला उपाध्यक्षमा कमल थापा समूहकै रोशन कार्की विजयी भएकी छिन् । महामन्त्रीमा महिलातर्फ लिङ्देन पक्षकी अभिनेत्री रेखा थापा पराजित हुँदा कुन्ति शाहीसँग विजयी भइन् ।

खुल्लातर्फका दुई महामन्त्रीमध्ये थापा पक्षका भुवन पाठक र लिङ्देन पक्षका धवलशमशेर राणाले जिते । यता नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेपनि अबको बाटो उनका लागि त्यति सहज भने देखिदैन् ।

राजेन्द्र लिङ्देनसँग २२७ मतले पराजय भोगेका थापाले सामाजिक सञ्जालबाटै चित्त दुखाई पोखेका छन् । पराजित भएपछि लिङ्देनलाई बधाई दिदै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउन भ्याए । यद्यपि, उनले पराजयलाई भने सहर्ष स्वीकार गर्ने बताएका छन् ।

२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो भन्दै उनले गुनासो समेत गर्न भ्याए । एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको भन्दै उनले आपत्ति जनाए । थापाको हारपछि जे जस्तो असन्तुष्टि देखिएपनि अध्यक्षमा पराजित बनेका थापालाई पनि सँगै मिलाएर अगाडि बढ्ने नयाँ नेतृत्वको रणनीति देखिन्छ ।

यस्तै पूर्वयुवराज्ञी हिमानी शाहले पनि लिङ्देनलाई सच्चा राष्ट्रवादी नेता भन्दै बधाई तथा शुभकामना दिएकी छिन् । हिमानीको ट्वीटले पनि लिङ्देनलाई समर्थन रहेको जनाउँछ । लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनमा हुने हार र जितलाई स्वभाविक मानिन्छ । तर कमल थापाले हारलाई विभिन्न बहानामा अस्विकार गरेका छन् । यस्तै राप्रपाको नेतृत्वमा थापा जस्तो हस्तीलाई हराउँदै बाजी मारेका लिङ्देनका पार्टीलाई आगामी निर्वाचनमा पनि अस्तित्व जोगाउनेगरी अगाडि बढाउन भने त्यति सहज देखिदैन् ।