राजनीति

३३ किलो सुन काण्ड : इन्टरपोलबाट रेड नोटिस जारी गोरे समूहका अग्रवाल पक्राउ


काठमाडौँ — ३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चूडामणि उप्रेती उर्फ गोरे समूहका एक व्यक्ति पक्राउ परेका छन् ।

झापा साविक शिवगंज गाविस-१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ३३ किलो सुन काण्डमा गोरे भनिने चुडामणि उप्रेती समेत रहेको आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको तस्करी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा उनको संलग्नता देखिएको भन्दै प्रहरीले उनीविरूद्ध रेड नोटिस जारी गरेको थियो ।

फरार रहेका प्रतिवादीमध्ये अग्रवाल पनि एक थिए । उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा इन्टरपोल शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीविरूद्ध जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएको छ ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौँमा राखिएको उक्त शाखाले जनाएको छ।