राजनीति

पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने लिङ्देनको दाबी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गर्नुभएको छ । आज पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गर्नुभएको हो ।

उहाँले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताउनु भयो । नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताउनु भयो । नवनिर्वाचित अध्यक्ष लिङदेनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताउनु भयो ।