राजनीति

प्रचण्डलाई पत्तासाफ हुने डर, काँग्रेसले साथ नदिने, कस्तो छ त चुनावी जोडघटाउ ?


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी निर्वाचनमा पहिलो हुने तयारीमा छन् । यसका लागि चुनावी तालमेलदेखि पूर्वसहकर्मीलाई एक हुन उनले हारगुहार गरिरहेका छन् । २०६४ को निर्वाचनमा एकछत्र–सर्वत्र बनेको माओवादी एक्लैको मत ३१ लाख ४४ हजार २ सय ४ थियो । त्यो संख्या ७० को निर्वाचनमा झण्डै आधाले घट्यो । माओवादीको मत १६ लाख ४५ हजार ९१ मा खुम्चियो ।

जनुयुद्धको रापताप जनताका नजरमा क्रमबद्धरुपले सेलाउँदै गएपछि ७४ को निर्वाचनमा माओवादीको मात्र १३ लाख ३७ हजार २१ मत बाँकी रह्यो र पार्टी तेस्रो बन्यो । अबको पाँच महिनाभित्र मुलुक फेरि निर्वाचनमा होमिदैँछ । दलहरुले चुनाव लक्षित गतिविधिलाई अघि बढाएका छन् र त्यसको अग्रभागमा छन् माओवादी केन्द्रकै अध्यक्ष प्रचण्ड ।

पाँच गठबन्धनमा आवद्ध भएर सरकारमा सहभागी भएका प्रचण्ड चुनावसम्मै तालमेल गरेर आफुँ सुरक्षित हुन चाहन्छन् । तर अन्य दलको तयारी हेर्दा चुनावसम्मै गठबन्धनले निरन्तरता पाउने र प्रचण्डको आकंक्षाले सार्थकता पाउने अवस्था कमजोर छ ।

०७४ निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेलसहित जाँदा बहुमत आएको थियो । लगत्तै पार्टी एकता गरेका उनीहरु तीन बर्ष पनि एक रहन सकेनन् । एमालेसँगको एकता भंग भएर पूर्ववत् अवस्थामै फर्किएपछि आगामी निर्वाचनलाई लिएर प्रचण्डमा त्रास उत्पन्न भएको छ । एक्लै जाँदा चुनाव जितिने अवस्था छैन, तालमेलका लागि अन्य दलसँग परिपक्क वातावरण बनेको छैन । किनकि अहिले सत्ता साझेदारी गरिरहेका दलहरु नै चुनावी तालमेलको भ्रममा नपर्न स्पष्ट पारिरहेका छन् ।

प्रचण्डसँग अन्य बामपन्थी एक भएर जाने विकल्प पनि छ । पूर्व सहकर्मीहरुलाई एक बनाएर आफु बलियो हुने उनको तयारी पनि देखिन्छ । तर कतैबाट पनि प्रचण्डमाथि विश्वास गरेको देखिँदैन । पार्टी कमजोर हुँदाको परिणाम पछिल्ला केही वर्षयता सरकार ढाल्ने र बनाउने खेलमा निर्णायक भएपनि प्रचण्ड सत्ताको सहायक भूमिका छन् ।

फेरि ६४ कै जस्तो जनआधारसहित उनी सरकारको नेतृत्व गर्न चाहन्छन् । तर उनको चाहना र व्यवहारबीचको तालमेल मिलिरहेको छैन । यद्यपि पार्टीलाई पहिलो बनाउन उनी हरेक सम्झौताका लागि तयार देखिन्छन् ।

चुनाव नजिकिएसँगै प्रचण्डलाई निर्वाचन क्षेत्रले तानेको तान्यै छ । विगत दुई महिनायता उनी चितवन केन्द्रीत बनेका छन् । तर निरन्तर रुपमा पार्टी र आफूलाई निरीह रुपमा प्रस्तुत गर्नेदेखि शक्तिशालीको दम्भ देखाउन समेत पछि हटेका छैनन् । जुन उनकै लागि प्रत्युत्पादक बनिरहेका छन् ।