राजनीति

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याउने अवस्था नरहेको प्रचण्डको भनाई


काठमाडौँ – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमतिविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको प्रष्टयाउनु भएको हो ।

शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले राजनीतिक दलहरुको सहमती र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताउनु भयो । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतीमा मात्रै हुने अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो ।