राजनीति

पशुपति शमशेर राणा खुले कमल थापाको पक्षमा, राजेन्द्र लिङ्देनलाई तनाव



काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि आज मतदान भयो । मतदान जारी रहँदा पशुपति शमशेर राणाले आफू काँचो नेतृत्वको पक्षमा नरहेको भन्दै राजेन्द्र लिङ्देनलाई साथ नदिने बताएपछि अध्यक्षका अर्का प्रत्यासी कमल थापाले राहतको महसुस गरे । तर पनि अध्यक्षमा कडा प्रतिष्पर्धा भएकोले नेतृत्व कस्ले हत्याउला भन्ने चासोको विषय बनेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार दिनभर मतदान भयो । मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिव १२ बजेबाट सुरु भएको थियो । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रिय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिए ।

मतदान छिटो सम्पन्न गर्न ८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको थियो । भोलि विहानै मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाइने निर्वाचन समितिको तयारी छ । राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा भएको छ । मतदान चलिरहँदा निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाको सार्वजनिक रुपमै साथ पाएका अध्यक्ष थापाले आफ्नो जीत सुनिश्चित भएको प्रतिक्रिया दिए । उनले पार्टी भित्र नेतृत्वका लागि भएको प्रतिस्पर्धाले पार्टीलाई झनै सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

अर्का अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डालाई जनताको बीचमा लैजाने काममा विगतका नेतृत्वले कमजोरी गरेकाले त्यसलाई सच्याउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले महाधिवेशनबाट पार्टीमा फुट आउने अवस्था अन्त्य भएर जाने दावी समेत गरे । महाधिवेशनका ४ हजार ३८० प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिईरहेका छन । प्रतिनिधिहरु भने थापा कि लिङ्देन भन्नेमा विभाजित देखिए ।

राप्रपाको महाधिवेशनमा १४१ जना केन्द्रिय सदस्यका लागि २७० जनाको उम्मेदवारी परेको छ । राप्रपाको १ सय ९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन भने बाँकि ५० जना अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ । ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।