राजनीति

काँग्रेस अधिवेशन : नेतृत्व चयनका लागि सुदूरपश्चिम मतदान सुरू, ३ जना सदस्य निर्विरोध


काठमाडौँ — नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलो गरी मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

धनगढीस्थीत निर्माण व्यवसायी समितिको हलमा शुरू भएको मतदानमा ९ जिल्लाबाट आएका प्रतिनिधिले मत हाल्ने क्रम जारी छ । ८ जना पदाधिकारीसहित ५६ पदका लागि मतदान भइरहेको छ । ती पदका लागि पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर र कैलालीका पूर्वजिविस सभापित नारायण मिश्र प्यानलसहित उम्मेदवारी दिएका छन् ।

दुवै प्यानलबाट एक सय ७९ जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ तीन जना सदस्य निर्विरोध चयन भएका छन् । कैलालीबाट पुष्पा भट्ट, डडेल्धुराबाट तिलकराज जोशी र निर्मला बोगटी सर्वसम्मत चयन भएका हुन् ।