राजनीति

राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी, कसले मार्ला बाजी ?


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौँमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् । उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ । दुवैले आफूले जित्ने बताउँदै आएका छन् । राप्रपाको नेतृत्व लामो समयदेखि गर्दै थापालाई लिङ्देनले चुनौती दिने नेता–कार्यकर्ताहरु बताउँछन् ।

थापा प्यानलबाट उपाध्यक्षका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानको उम्मेदवार बनेका छन् । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।

राजेन्द्र लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ । विक्रम पाण्डे चाहीँ दुवै प्यानलको साझा उमेदवार बनेका छन् । त्यसो त पाण्डेलाई सर्वाधिक मत आउने आँकलन गरिएको छ । पदाधिकारीका बाँकी उम्मेदवार भने कसैको प्यानलमा अटाएका छैनन् ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।