समाचार

पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा १ जनाको मृत्यु, २३ घाइते


काठमाडौँ — मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

वीरगन्जबाट बागलुङका लागि छुटेको ग २ ख ००९८ को यात्रुवाहक बसले पातिचौरदेखि दोबिल्लातर्फ जाँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान करिब सात बजेको समयमा ठक्कर दिएको हो । ट्याक्टरमा मजदुरहरू रहेका थिए भने सोही ट्याक्टरमा सवार लामा कन्स्ट्रक्सनमा कार्यरत मजदुर १८ वर्षीय मृत्यु विशाल लामिछानेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका १८ जनालाई उपचारको लागि पर्वत अस्पतालमा पठाइएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई उपचारको लागि पोखरा लगिएको छ ।

प्रत्यक्षदर्शी रोशन तिवारीका अनुसार बस र ट्याक्टर एकै दिशातर्फ गइरहेको बेलामा ओभरटेक गर्ने क्रममा बसले ट्र्याक्टरलाई ठक्कर दिएको हो ।