राजनीति

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज निर्वाचन


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पहिलो पटक बन्न लागेको प्रदेश समितिकने नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हुँदै छ ।

प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ । कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने छ ।

प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । प्रदेश नम्बर एकमा संस्थापन पक्ष र सिटौला पक्षका बीचमा सहकार्य भएको छ भने विभिन्न गुटमा विभाजित पौडेल समूहले पनि आफ्नो पक्षबाट सहमतिमै उम्मेदवारी दिएको छ ।

प्रदेश नम्बर एकको सभापतिमा पौडेल समूहबाट गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ । संस्थापनबाट उद्धव थापा प्रतिष्पर्धामा उत्रिएका छन् । थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । केन्द्रमा सहकार्य भएपछि देउवाले प्रदेश एकको सभापतिमा सिटौला पक्षका उम्मेदवारलाई साथ दिएका हुन् ।

त्यस्तै प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ । यो प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन् । त्यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । यो प्रदेशमा संस्थापनबाट इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशमा पनि संस्थापन र संस्थापन इतरबीचमै प्रतिस्पर्धा हुनेछ। संस्थापनबाट अर्जुन जोशीले उम्मेदवारी दिँदा इतरबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् । त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिएका छन् ।

कर्णाली प्रदेशमा संस्थापनबाट ललितजंग शाहीले उम्मेदवारी दिँदा इतरबाट भुपेन्द्रजंग शाही उम्मेदवार बनेका छन्। त्यस्तै विमलेन्द्र निधिले मोतिराज बमलाई उम्मेदवार बनाएका छन् । सुदुरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभाको सभापतिको उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि दुवै पक्षलाई उम्मेदवार छान्न कठिन भएको थियो । सोही कारण प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो ।

प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ । कोषाध्यक्ष भने मनोनित पद हो । प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता हुन् ।