राजनीति

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रवेश शुल्क दुई हजार


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

सो उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरूको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि उनले जानकारी दिए । यस्तै, राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको उनले बताए । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।


बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको उनले जानकारी दिए । पार्टीको लेखापरीक्षणको प्रतिवेदन सार्वजनिक गर्नका लागि स्थायी कमिटीले अनुमति दिएको पनि जनानकारी दिए ।

राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपांगता भएकाहरूको हकहित सुरक्षित गर्ने निर्णय पनि गरिएको उनले बताए । बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुने गरी कार्यविधि बनाएको भन्दै उनले केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव तयार पार्ने जिम्मेवारीसमेत दिएको जानकारी दिए ।