राजनीति

नेतृत्व परिवर्तनको पक्षमा उभिन कार्यकर्तालाई कोइरालाको आग्रह


काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्व परिवर्तनको पक्षमा उभिन आम कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रदेश नम्बर–१ को महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले पार्टीलाई गतिशील र ऊर्जावान् बनाउन नेतृत्वमा नयाँ पुस्ताको आवश्यता भएको टिप्पणी गरे ।

उनले नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता भएको भन्दै पार्टीको चालु महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको बताए ।

१४औँ महाधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षीसमेत रहेका कोइरालाले पार्टीका प्रतिनिधिहरूलाई अन्तरआत्माको आवाज सुनेर भविष्यको नयाँ कांग्रेस निर्माणमा आफ्नो मत दिन आग्रह गरे ।

“को नेतृत्वमा पुग्छ भन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने भन्ने गहन जिम्मेवारी प्रतिनिधि साथीहरूको विवेकमा भरपर्छ,” उनले भने, “कांग्रेसमा अहिले देखिएको भागबन्डा, गुट र फुट अन्त्यको लागि ती तमाम सहिदहरूलाई स्मरण गरेर भविष्यको कांग्रेसबारे अन्तरआत्माको पुकार सुन्नुपर्नेछ । त्यो अन्तरआत्माको आवाजबाट नयाँ कांग्रेस प्रस्फुटन हुनेछ ।”