राजनीति

एमालेले निष्कासन गरेका व्यक्ति उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरे ।

‘(संसद) किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ तयसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताए । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उनले बताए । संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो ।