देश

देउवा पक्षले साथ नदिए पनि सभपतिमा उम्मेदवारी दिने भीमसेन दासको तयारी


बगमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज सभापतिमा तीन समूहका नेताले उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसमा देखा परेका तीन समूहले आफ्नै प्यानलसहित उम्मेदवारी मनोनयन दर्ता गर्न लागेका हुन् ।

बागमती प्रदेशका सभापतिका प्रत्यासीका रुपमा मकवानपुरका इन्द्रबहादुर बानियाँ, नुवाकोटका जगदीशनरसिंह केसी र काठमाडौका भीमसेनदास प्रधान रहेका छन् । बागमतीको सभापतिमा दाबेदारी गरिरहेका तीनैजना फरक फरक गुटका हुन् । बानियाँ पार्टी सभापति तथा संस्थापन शेरबहादुर देउवा निकट हुन् भने केसी संस्थापन इतर पक्षका हुन् । त्यस्तै, प्रधान कृष्णप्रसाद सिटौला निकट मानिन्छ । उनीहरु अहिले आफ्ना प्यानलैसहित चुनावी मैदानमा होमिने तयारीमा छन् ।

अन्य प्रदेशमा सभापति देउवा र सिटौला पक्ष मिलेता पनि बागमतीमा भने दुवै समूह बलियो देखिएका कारण दुवैले आफ्नो अडान नछोडेका हुन् । प्रधानसँग उपत्यकाका प्रतिनिधिहरुको साथ छ भने बानियाँ आफू एक कार्यकाल निर्वाचित भएर प्रदेश सभापति बन्न चाहन्छ । ‘देउवा–सिटौला एउटै समूहका रहेका कारण दुईमध्ये एकजना उम्मेदवार बनाउन पहल भइरहेको छ । त्यसकारण प्यानल घोषणा नगरिएको हो,’ प्रधान निकट एक नेताले भने, ‘सहमति नभएको खण्डमा प्यानल तयारी अवस्थामा रहेको छ । सार्वजनिक गर्न समस्या हुँदैन ।’ प्रधानले देउवा पक्षले आफूलाई नै साथ दिने विश्वास गरेका छन् ।

प्रधान २०७४ सालमा ९ महिना रक्षामन्त्री बनेका थिए । २०७० को चुनावमा एमाले नेता योगेश भट्टराई र २०७४ मा एमाले र माओवादी मिलेर चुनाव लड्दा समेत माओवादी नेता झक्कु सुवेदीलाई पराजित गरेका थिए । २०७० मा पहिलो पटक काठमाडौंको १० निर्वाचन क्षेत्रमध्ये ८ निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताउन भूमिका खेलेका व्यक्ति हुन् ।

२०३२ सालदेखि विद्यार्थी आन्दोलनबाट सक्रिय राजीतिमा आएका हुन् । संस्थापक नेता गणेशमान सिंहसँगै रहेर २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा सहभागि थिए । २०६२र६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाले उनलाई संयुक्त जनआन्दोलनको काठमौं संयोजक बनाएका थिए ।

प्राध्यापक संघको महासचिव, अध्यक्ष पनि बने । उनी काठमाडौं जिल्लाका पूर्व सभापति हुन् । तीन समूहले आफ्नो समूह बलियो बनाउन कसरत बढाएका छन् । कांग्रेसका शीर्षनेताहरु प्रकाशमान सिंह र कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत दुबै यतिबेला हेटौडामै छन् । उनीहरु समूह व्यवस्थापनमा लागेका छन् ।