राजनीति

राप्रपामा निर्वाचन प्रक्रिया सुरु, थापा र लिङ्देन दुवै पक्षले टुंग्याए पदाधिकारीका उम्मेदवार


काठमाडौँ – राप्रपामा नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ  । अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले बिरोध जनाएपछि छानबिन समिति गठन गरेर विवाद समाधान गरेसँगै चुनावी प्रक्रिया अघि बढेको हो ।

निर्वाचनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुने व्यवस्था छ । चार हजार चार सय ७१ प्रतिनिधिले मत दिन पाउने छन् । अध्यक्षका प्रत्यासी थापा र लिङ्देन दुबै पक्षले प्यानल बनाएका छन् । नेता विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षको सूचीमा पर्नुभएको छ ।

उपाध्यक्षमा थापा पक्षमा बुद्धिमान तामाङ, धु्रबबहादुर प्रधान र रोशन कार्की तथा लिङ्देन पक्षबाट दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ प्रतिष्पर्धामा रहनुभएको छ । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ ।

थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही तथा लिङ्देन प्यानलबाट रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिना प्रतिष्पर्धामा हुनुहुन्छ । अध्यक्षको चुनाब मतपत्रबाट हुनेछ भने बाँकीको भोटिङ मेशिनबाट हुने राप्रपाले जनाएको छ ।