राजनीति

राप्रपाको एकता महाधिवेशन : कुन नेताले के बोले ? (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डमा भएको उद्घाट्न समारोहमा विभिन्न दलका शिर्षस्थ नेताहरु पुगेका थिए । उद्घाटन सत्रमा शिर्षस्थ नेताहरुले राप्रपाले लिएको एकताको अडानको प्रशंसा गरेका छन् ।

बुधबारबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकताको महाधिवेशनमा शुभकामना दिन विभिन्न राजनीतिक दलका शिर्षस्थ नेताहरु पुगेका थिए । राप्रपाको एकता महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतका नेता उपस्थित भए ।

त्यस्तै महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागि भएर शुभकामना दिएका थिए । गत शुक्रबार एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पनि प्रचण्डलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । तर एमालेको दशौं महाधिवेशनमा नगएका प्रचण्ड राप्रपाको एकताको महाधिवेशनमा भने सहभागि भए र शुभकामना दिए । राप्रपालाई शुभकामना सन्देश दिदै प्रचण्डले आफू पनि (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताए । आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको प्रचण्डको टिप्पणी थियो ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरे । अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन पनि सुझाव दिए । नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा नेपालको जोड रहेको थियो ।

पार्टी अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका राजेन्द्र लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको बताए । लिङ्देनले नेतृत्वको चर्को आलोचना समेत गरे । यस्तै, अध्यक्षका अर्का प्रत्यासी कमल थापाले राप्रपालाई कहिले नफुटाउँने संकल्प लिए । थापाले अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपति शमसेर राणाले पार्टीप्रति गरेको योगदानको खुलेरै प्रशंसा गरे । थापाले नेपालको पहिचानको लागि हिन्दु राष्ट्रको पक्षमा पार्टीलाई उम्याउने र राजसंस्थालाई उचित स्थान दिने बताए ।

पशुपति शमशेर राणा, कमल थापा र डाक्टर प्रकाशचन्द्र लोहनीको पार्टी मिलेर राप्रपा बनेपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । राप्रपा अध्यक्षद्धय राणा र लोहनी भने नेतृत्वको होडबाट बाहिरिएका छन् । महाधिवेशन आगामी शुक्रबारसम्म चल्ने छ ।