राजनीति

राप्रापसँग विचार र दर्शन मिल्दैन तर गोत्र मिल्छ : प्रचण्ड


काठमाडौँ — सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताउनुभएको छ । बुधबारबाट काठमाडौँमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन् ।

दाहालले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे । तर पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो ।

अध्यक्ष दाहालले राप्रपाले ईतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरुले नेपाली जनतालाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाबी समेत गरे । उनले भने, ‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईंहरुजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् ।

एउटा राष्ट्रवाद भन्ने बित्तिकै अघि बढी हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिरे फर्कने राष्ट्रवाद । एउटा, नेपालको सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिरै फर्कन खोज्ने राष्ट्रवाद ।’

अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरुले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा दाहालले राप्रपासँग आफ्नो मत, विचार र दर्शन नमिले पनि राष्ट्रिय भावना,स्वाधिनताको विषयमा मिल्ने बताए । उनले राष्ट्रियताको सवालमा मत मिल्नै भएकाले राप्रपालाई आफूले उस्तै उस्तै गोत्र भएको उल्लेख गरे ।