राजनीति

६७ जिल्लामा कांग्रेस प्रतिनिधि चयन, संस्थापन इतर सबै पक्ष एक भएमात्रै देउवालाई चुनौती


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि विकल्प दिने भन्ने प्रतिष्पर्धा चुलिएका बेला दुबै पक्षलाई ढुक्क हुने अवस्था देखिएको छैन ।

हालसम्मका प्रतिनिधिको अवस्था हेर्दा संस्थापन र इतरपक्षबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । त्यसका लागि संस्थापनबाहेक सवै पक्ष एक भएर चुनावमा मैदानमा होमिनुपर्ने जानकारहरू बताउँछन् । दुबै समूहका लागि प्रदेश २ का ८ र पहाडका २ जिल्लाका प्रतिनिधि निर्णायक हुने देखिएको छ । प्रदेश २ का ३२ निर्वाचन क्षेत्रबाट साढे आठ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

आठवटै जिल्लामा निर्वाचन भइरहेको छ । प्रदेश नम्बर २ बाहेक दुई निर्वाचन क्षेत्र रहेको धनकुटा र एक निर्वाचन क्षेत्र रहेको रसुवामा पनि महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ । नतिजा आएका ६ प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा संस्थापन पक्ष बलियो देखिएको छ भने प्रदेश १, वाग्मती र गण्डकीमा संस्थापनइतर पक्ष बलियो देखिएको छ ।